काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । चाडपर्वको बेलामा देशभर यातायात सहज बनाउनका लागि रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारि दिएका छन् ।
रुट परमिट खुला भएपछि अब रुट नलिइ नै सार्वजनिक यातायात गन्तव्यस्थलसम्म पुग्न पाउने व्यवस्था मिलेको छ । तर, कुनै विशेष बाटोको भौगोलिक अवस्था वा संरचनागत कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनलाई भने यसपटक पनि प्रतिबन्धित गरिएको महासंघले जनाएको छ ।
रुट परमिट आगामी असोज २२ गतेसम्म मात्र कायम रहनेछ । यात्रुहरूको सहजताका लागि सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने प्रावधान यथावत् राखिएको अध्यक्ष स्वाँरले बताएका छन् ।
यता, चाडपर्वमा सवारी आवागमनलाई थप व्यवस्थित बनाउन सरकारले यसअघि नै नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।
यसरी सरकारले सार्वजनिक सवारीमा रुट परमिट खुला गर्दै ठूला सवारी साधनमा रोक लगाउने निर्णयसँगै चाडपर्वको यात्रामा यात्रुहरूलाई सहजता हुने अपेक्षा गरिएको छ ।



































