काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल उपलब्ध गराएको छ।
रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा आयोजित विशेष कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
सहयोगस्वरूप प्रदान गरिएका सबै मोटरसाइकल १५० सीसी क्षमताका बजाज पल्सर मोडलका रहेका छन्। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको बग्गीखाना ट्राफिक कार्यालयलाई सशक्त बनाउनका उद्देश्यले मोटरसाइकल उपलब्ध गराएको अध्यक्ष गोल्छाले बताए।
https://www.youtube.com/watch?v=XVKbpxJ53rA
कार्यक्रममा बोल्दै उनले ट्राफिक व्यवस्थापनमा बजाजको योगदानले प्रहरीलाई अझ प्रभावकारी सेवा दिन सहज हुने विश्वास व्यक्त गरे।
यसै अवसरमा ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले बजाजको सहयोगले सेवा कार्यलाई थप गतिशील बनाउने उल्लेख गर्दै यस्तो सहकार्यले निजी क्षेत्र र राज्य संयोजनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।
गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई आवश्यक उपकरण र सवारीसाधन उपलब्ध गराउँदै उनीहरूको कार्य सहज र प्रभावकारी बनाउन योगदान पुर्याउँदै आएको छ।


































