काठमाडौँ । दशैं मुखैमा आएको बेला यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङलाई बन्द गर्ने भएको छ।
सोमबार पृथ्वी राजमार्ग हुँदै गएका गाडी र यात्रु बिच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको भन्दै बुकिङलाई बन्द गर्न लागेको जानकारी दिएको छ । आर्थिक भ्वाइसँग कुराकानी गर्दै व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज यातायात मन्त्रालयसँगको बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था बन्द गर्ने जानकारी दिएका छन् ।
''सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था छैन ।
काठमाडौँबाट सोमबार पृथ्वी राजमार्ग हुँदै गएका गाडी र यात्रु बिच बाटोमै अलपत्र परेका छन् । अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था देखिएन हामीले यात्रुलाई थप असहजता नहोस् भन्नका लागि यो निर्णय लिएका हौ सिटौलाले थप स्पष्ट पार्दै भनेका छन् । साथै यात्रु गाडीका चालक र सहचालकले नै खाना पानी खान नपाएर बीचबाटोमै अलपत्र पर्ने गरेको गुनासो आएको समेत उनको भनाई छ ।
साथै घटस्थापना वा दशैंको एक दुई दिन अगाडिसम्म पनि राजमार्ग खुल्ने अवस्था नबनेमा यस अगाडि काटेको अग्रिम टिकटको रकम समेत फिर्ता गर्ने गरी सोचेको सिटौलाले जानकारी दिए ।


































