काठमाडौं। टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै “cARTnival” अन्तर स्कुल चित्रकला कार्यक्रम बुढानीलकण्ठ स्कुलमा भव्य रूपमा सम्पन्न गरेको छ । सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए ।
कार्यक्रम दुई समूह—कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२—मा विभाजन गरिएको थियो ।“cARTnival” लाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चालन गरियो, जसले विद्यार्थीहरूलाई वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयहरूमा आफ्ना विचार र कल्पनाशक्ति कलामार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्यो ।
सो कार्यक्रममा प्रिन्सिपल केशर खुलालले विद्यार्थीहरूको सिर्जनशीलता र अभिव्यक्तिलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमहरू विद्यालयको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिले कला केवल मनोरञ्जन नभई सोच, दृष्टि र कल्पनाशक्तिको विस्तार गर्ने प्रभावशाली माध्यम भएको उल्लेख गरे ।
अन्त्यमा, सिप्रदी ट्रेडिङ र टाटा ईभीले यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिने, समाजमा सकारात्मक प्रभाव पुर्याउने र विद्यार्थी सशक्तिकरणमा निरन्तर योगदान पुर्याइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

































