काठमाडौं । पछिल्लो समय इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो बढ्दै गएको देखिन्छ । जुन कुरा भन्सार विभागको विद्युतीय सवारी साधन आयात सम्बन्धी तथ्याङ्क हेर्दा पुष्टि हुन्छ ।
भन्सार विभागको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको पौष मसान्तसम्म मात्रै नेपालमा मात्रै तीन पाङ्ग्रे सवारी तथा कार, जिप र भ्यान गरी १३ अर्ब ६३ करोड ९८ लाख २७ हजार रुपैयाँ बराबरका ११ हजार ३०४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । जुन गत आर्थिक वर्षको भन्दा ३.५५ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा भने १३ अर्ब १५ करोड ५० लाख ४७ हजार रुपैयाँ बरावरका ५ हजार ६२९ वटा मात्रै तीन विद्युतीय कार, जिप र भ्यान तथा पाङ्ग्रे सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा ५९ करोड ४१ लाख ९१ हजार रुपैयाँ बरावरका ५ हजार ८३५ तीन पाङ्ग्रे विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
उक्त तथ्याङ्क अनुसार उक्त समयमा ०–५० किलोवाटसम्मका ३ अर्ब १२ करोड ४३ लाख बढीका १ हजार ७२५ वटा, ५१–१०० किलोवाट क्षमताका ७ अर्ब ९६ करोड ५ लाख ११ हजार रुपैयाँ बरावरका ३ हजार १९१ वटा र १०१–२०० किलोवाटसम्मका १ अर्ब ९५ करोड २७ लाख ३६ हजार रुपैयाँ बरावरका ५५३ ओटा विद्युतीय कार, जिप तथा भ्यान नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ४४ लाख ७४ हजार बरावरका ५ हजार ३५ ओटा ३ पाङ्ग्रे विद्युतीय सवारी आयात भएको देखिन्छ ।
यस्तै ३ अर्ब ८३ करोड ५४ लाख १७ हजार बरावरका २ हजार ५६ वटा ०–५० किलोवाट क्षमताका कार जिप तथा भ्यान र ८ अर्ब ४५ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरका ५१–१०० किलोवाटका २ हजार ९७० वटा र १०१–२०० किलोवाटसम्मका ३४ करोड ९७ लाख २ हजार रुपैयाँ बरावरका ६८ ओटा विद्युतीय कार, जिप तथा भ्यान आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जस बापत सरकारले चालु आर्थिक वर्षको छ महिनामा ८ अर्ब २५ करोड ९५ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । भने गत आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विद्युतीय सवारी साधन आयात गरेबापत जम्मा ५ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ बरावरको मात्रै राजश्व सङ्कलन गरेको थियो ।
विद्युतीय सवारीको प्रयोगलाई सरकारको प्राथमिकता
यस्तै राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारी साधनको प्रयोग लगायतमा जोड दिएको छ ।
यसका साथै सरकारले आर्थिक वर्ष २०७६–७७ देखि आव २०८०–८१ सम्म विद्युतीय सवारी साधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत क्षेत्रको नीति तय गरेको छ ।
वायु प्रदूषणको प्रभावलाई कम गर्नका लागि विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्छ: वातावरणविद्
वायु प्रदूषणसँगै जलवायु परिवर्तनको प्रभावहरू कम गर्नका लागि सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने र सार्वजनिक सवारीलाई पूर्ण विद्युतीकरण गर्नुपर्ने बातावरणबिद् भूषण तुलाधरको भनाई छ ।
‘विशेष गरी नेपालको काठमाडौँ उपत्यकामा गाडीको धूवाँका कारण वायु प्रदूषण तीव्र रूपमा बढेको अवस्थामा धूवाँ नफाल्ने विद्युतीय सवारी प्रयोग गर्ने हो भने प्रदूषणको अवस्थामा पनि सुधार ल्याउन सकिन्छ ।’ तुलाधरले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा सुनाए ।
नेपालमा वायु प्रदूषण बढ्ने मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन आदिलाई मानिएको अवस्थामा नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्नु सकारात्मक कुरा भएको उनको भनाई छ ।
उनले भने, ‘पेट्रोलियम पदार्थहरूमा परनिर्भरता घटाउनका लागि पेट्रोलियम पदार्थको आयात गर्दा नेपालबाट ठुलो धनराशि बाहिरिएको अवस्थामा विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्छ ।’
नेपालमा उपलब्ध छन् यी ब्रान्डका विद्युतीय गाडी
कुन कुन देशबाट आयात हुन्छन्, नेपालमा विद्युतीय सवारी
आवको पछिल्लो ६ महिनाको अवधिमा मात्रै चीनबाट १० अर्ब ६४ करोड ७८ लाख रुपैयाँ बढी मूल्य बराबरको ४ हजार २०५ वटा ईभी आयात भएको छ।
त्यस्तै, उक्त समयमा भारतबाट २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बढीको १ हजार २५० वटा ईभी आयात भएको छ। साथै, सोही अवधिमा अमेरिकाबाट १ करोड ६६ लाख रुपैयाँको ४ वटा, कोरियाबाट १ करोड २५ लाख रुपैयाँको २ वटा र जर्मनीबाट १३ करोड २८ लाख रुपैयाँको १९ वटा ईभी आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।



































