कामठाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ।
एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् जानकारी गराउदै नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको उल्लेख गरेको छ । एअरलाइन्सले भनेको छ, ‘मार्चदेखि साप्ताहिक उडान सुरु हुँदैछ। हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस्।
पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन्।
‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो,’ उनले भनेका छन्, ‘यस अवसरलाई पर्यटन प्रवद्र्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु।’



































