काठमाडौँ । पछिल्लो समय नेपालमा इभी गाडीको लोकप्रियता बढ्न थालेसँगै दैनिक रूपमा माग समेत बढ्न थालेको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ९ महिनाको अवधिमा नेपालमा दुई पाङ्गे, तीन पाङ्गे,चार पाङ्गे र कमर्सियल गरेर २७ अर्ब बराबरको ३२ हजार ४४४ युनिट विद्युतीय सवारी साधन नेपाल आयात भएको छ ।
नौ महिनाको अवधिमा २७ अर्ब बराबरका गाडी आयात हुँदा सरकारलाई १३ अर्ब ७२ करोड बढी राजस्व प्राप्त भएको राजस्व विभागले जनाएको छ । जस अनुसार यस अवधिमा २४ अर्ब ७६ करोड रुपैयाँ बराबरको १० हजार ४४ युनिट चार पाङ्गे, त्यस्तै, ८० करोड रुपैयाँ भन्दा बढीको ८ हजार ३४८ युनिटमा दुई पाङ्गे र १ अर्ब ४६ करोड रुपैयाँ बराबरको १४ हजार ५१ युनिट तीन पाङ्गे सवारी आयात भएको विभागले जनाएको छ ।
साथै, सोही अवधिमा पेट्रोल इन्जिन बाइक, तथा स्कुटर १७ अर्ब रुपैयाँ बराबरको कुल १ लाख ४१ हजार ८३३ युनिट आयात भएको विभागले जनाएको छ । उक्त सवारी आयात हुँदा सरकारलाई १७ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
विश्व बजारमा कहलिएका ठूला अटो उत्पादकहरूले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको सट्टा ईभी उत्पादनलाई व्यापक बनाउँदै गइरहेको समयमा नेपालमा समेत इभीको बढ्दो माग रहँदै आएको छ ।


































