काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २.८५ प्रतिशतले घटेर १६ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, खुद शुल्क तथा कमिसन आम्दानीमा सुधार देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफामा समेत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यससँगै बैंकको लाभांश क्षमता १०.६४ प्रतिशतबाट बढेर १२.०२ प्रतिशत पुगेको छ ।
बैंकले इम्पेयरमेन्ट चार्जमा पनि कमी ल्याएको छ । अघिल्लो वर्ष ५ अर्ब ९७ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ । यद्यपि बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने सामान्य बढेको छ । अघिल्लो अवधिमा ४.८६ प्रतिशत रहेको एनपीएल बढेर ४.९६ प्रतिशत पुगेको छ ।
वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.३४ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १५३.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.६७ गुणा र तरलता अनुपात ४४.४८ प्रतिशत रहेको छ ।
नाफा वृद्धि र वितरणयोग्य मुनाफामा भएको सुधारसँगै ग्लोबल आईएमई बैंकको लाभांश दिने क्षमता अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ ।


































