काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा समेत सुधार देखिएको छ । अघिल्लो वर्ष १६ अर्ब ३२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नुले महत्वपूर्ण योगदान दिएको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब २० करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ ।
यस्तै, बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
लाभांश क्षमता ५ अर्बभन्दा माथि
नबिल बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमता पनि सुधार गरेको छ । नियामकीय समायोजनपछि गत असार मसान्तसम्म बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा र असार मसान्तसम्मको समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस आधारमा साधारण शेयरधनीका लागि प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ ।
निक्षेप र कर्जा विस्तारमा वृद्धि
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको कुल सम्पत्ति ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो अवधिमा ६ खर्ब ३६ अर्ब ७८ करोड रुपैयाँ रहेको कुल सम्पत्ति १५.३८ प्रतिशतले वृद्धि भएको हो ।
बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
खराब कर्जा घट्दा वित्तीय स्वास्थ्य मजबुत
बैंकको खराब कर्जा (एनपीएल) घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा (नेट एनपीएल) ०.५८ प्रतिशतमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा कायम भएको छ । नाफा वृद्धि, खराब कर्जामा सुधार र वितरणयोग्य मुनाफामा भएको वृद्धिले नबिल बैंकको आगामी लाभांश क्षमता थप बलियो बनेको संकेत गरेको छ ।


































