काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ । गभर्नर नियुक्तिमा ढिला हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
गभर्नर नियुक्तिको विषयमा दुई महिनादेखि सत्तारुढ दल कांग्रेस र एमालेका निम्ति पेचिलो विषय बनेको थियो । कतिसम्म भने किचलो बढदै जाँदा चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपछि यसका दुई सदस्यले फरक(फरक समितिमा राजीनामा दिएका थिए ।

































