काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिमारी भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सोमबार निधन भएको हो ।
श्रेष्ठको अन्त्येष्टि उनको इच्छाअनुसार एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि (वुडन क्रिमेटरी)बा ट भएको थियो। यो वुडन क्रिमेटरीमा शव जलाउन १०० केजी दाउराले पुग्छ र त्यस क्रममा निस्कने धुवालाई प्रदूषणरहित बनाएर बाहिर छाडिन्छ।
९४ वर्ष उमेर पुगेका श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्ष थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो। उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुनेसमेत घोषणा गरेका थिए।
श्रेष्ठले विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल भएका थिए । स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् । उनलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो ।


































