काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ।
आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमबद्ध रूपमा जारी गरिने बैंकले जानकारी गराएको छ।
उक्त भिडियोहरूमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्युआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

































