काठमाडौँ । आज जेठ २३ गते शुक्रवारदेखि प्रभु क्यापिटलले सर्वसाधारणका लागि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरले यो खुला मुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री खुला गरेको हो ।
कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने असार ६ गतेसम्म खुला रहनेछ ।
यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिने छ। इकाई बाँडफाँट भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले बताएको छ । खुला मुखी योजना भएकाले इकाई बाँडफाँटपछि भने योजना व्यवस्थापक र योजना व्यवस्थापकले तोकेको वितरकको मध्यमबाट इकाई खरिदबिक्री गर्न सकिनेछ ।


































