काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। आइतबार राति काठमाडौं अवतरण गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।
भ्रमणका क्रममा अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। शाह प्रधानमन्त्री बनेपछि कुनै विदेशी उच्च पदाधिकारीसँग हुने यो पहिलो औपचारिक भेट हुनेछ।
यसैगरी, अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सोमबार दिउँसो भेटवार्ता गर्नेछन्। उनले नेपालमा रहँदा एडीबीको सहयोगमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाहरूको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ।
भ्रमणका अवसरमा भन्सार तथा पारवहन र खानेपानी–ढल व्यवस्थापनसँग सम्बन्धित दुई महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने तयारी रहेको बताइएको छ।
नेपाल आगमनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष कान्डाले नेपालले विभिन्न चुनौतीका बीच पनि उल्लेखनीय सहनशीलता देखाएको उल्लेख गरेका छन्। उनले एडीबी नेपालमा सक्रिय लगानी गर्ने प्रमुख विकास साझेदारको रूपमा दीर्घकालीन आर्थिक प्रगति, अवसर सिर्जना र स्थायित्वका लागि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपालको नयाँ सरकारसँग आगामी प्राथमिकताबारे छलफल गर्दै आगामी दिनमा सहकार्य कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा संवाद गर्ने उद्देश्य रहेको बताएका छन्।

































