काठमाडौं । रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंक तथा वित्तीय क्षेत्रबाट हालसम्म ५० करोड ९४ लाख ८६ हजार रुपैयाँ सहयोग जुटेको छ । १६ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंकका व्यवस्थापन तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
बैंक व्यवस्थापन तथा कर्मचारीबाट हालसम्म राहत कोषमा ५० करोड ९४ लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ । जसमध्ये वाणिज्य बैंकबाट ४७ करोड ४८ लाख ११ हजार रुपैयाँ र विकास बैंकबाट ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ जम्मा भएको तथ्यांकले देखाएको छ ।
हालसम्म चारवटा वाणिज्य बैंकले भने सहयोग रकम सार्वजनिक गरेका छैनन् । नबिल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र सिटिजन्स बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकम सार्वजनिक गरेका छैनन् ।
नबिल बैंकले चौधरी फाउन्डेसनसँगको सहकार्यमा बाढीपीडितका लागि १५ करोड रुपैयाँ सहयोग घोषणा गरिसकेको छ । तर, उक्त रकमको चेक सरकारलाई हस्तान्तरण हुन बाँकी रहेको जनाइएको छ । नेपाल एसबिआई बैंकले बाढी प्रभावितका लागि राहत सामग्री सहयोग गरिरहेको भए पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छैन । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि हालसम्म आर्थिक सहयोग घोषणा गरेको छैन ।
विकास बैंकतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकले कोषमा रकम जम्मा गरेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाबाट प्राप्त आर्थिक सहयोग बाढी प्रभावितको तत्कालीन उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित आवास व्यवस्थापनदेखि दीर्घकालीन पुनःनिर्माणसम्मका काममा प्रयोग गरिनेछ । सरकारले यस्तो सहयोग राहत कोषमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने व्यवस्था गरेको छ ।
भोटेकोसी बाढीबाट सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेकाले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनःनिर्माणका लागि थप स्रोत आवश्यक देखिएको छ ।
सरकारले बाढी प्रभावितका लागि सहयोग आह्वान गरेपछि विदेशी दातृ निकाय तथा स्वदेशका विभिन्न संघसंस्थाबाट शनिबारसम्म करिब ११ अर्ब रुपैयाँ सहयोग जुटिसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको छ ।
सरकारले यसअघि कोषमा जम्मा भएको एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । कार्यालयका अनुसार ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको छ ।


































