काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते गर्ने भएको छ। बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको ४७४औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।
बैंकका अनुसार साधारण सभा असोज १६ गते शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना हुनेछ।
सभामा सञ्चालक समितिको प्रस्तावअनुसार कायम सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
त्यस्तै, नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा कुनै थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीबमोजिम आवश्यक कार्य गर्न वा गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पेस हुनेछ।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि छलफल गरिनेछ।
यसैगरी, बैंकका सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारण सभामा राखिनेछ। साथै, स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी जानकारी पनि सभामा प्रस्तुत गरिने बैंकले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
































