काठमाण्डौ । कामना सेवा विकास बैंकले डिजिटल बैंकिङ सेवामा विस्तार गर्दै ‘नेपालपे’ कार्ड जारी तथा स्वीकार गर्ने सुविधा सुरु गरेको छ। बैंकका ग्राहकले अब नयाँ कार्ड प्रयोग गर्न पाउनेछन् भने बैंकका एटीएममार्फत नेपालपे तथा अन्तर्राष्ट्रिय डिस्कभर नेटवर्कका कार्ड समेत चल्ने व्यवस्था गरिएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालनमा रहेको नेपालपे कार्ड राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गतको सेवा हो, जसलाई देशभरका एटीएम र पोस मेसिनमा प्रयोग गर्न सकिन्छ। अन्तर्राष्ट्रिय डिस्कभर नेटवर्कसँगको सहकार्यका कारण यो कार्ड विदेशमा समेत प्रयोग गर्न मिल्ने बताइएको छ।
यस प्रणालीले बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई कार्ड जारी तथा स्वीकार गर्न सक्षम बनाउनेछ। साथै, डिस्कभर र रुपे नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालभित्रका एटीएम तथा पोस मेसिनमा प्रयोग गर्न सकिनेछन्।
हाल ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे प्रणालीमा आबद्ध भइसकेका छन्। तीमध्ये केहीले कार्ड जारी गरिसकेका छन् भने अरूले स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएका छन्।
करिब आठ लाख ग्राहकलाई सेवा दिँदै आएको कामना सेवा विकास बैंकका देशभर १२२ शाखा, एउटा विस्तारित काउन्टर र ६६ एटीएम सञ्चालनमा छन्। बैंकले प्रविधिमैत्री सेवा विस्तारसँगै ग्राहकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार अझ सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

































