काठमाडौँ । कर्जा असुलीमा समस्या बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरू ऋणीका घरजग्गा तथा अन्य सम्पत्तिका अनिच्छुक मालिक बन्न थालेका छन् । ऋणीले कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा धितो लिलाम बिक्री गरी रकम असुल गर्ने प्रक्रिया प्रभावकारी हुन नसकेपछि बैंकहरूले त्यस्ता सम्पत्ति आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था बढेको हो ।
यसको परिणामस्वरूप वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (नन–बैंकिङ एसेट्स) थुप्रिने क्रम तीव्र बनेको छ । यसले बैंकहरूको कर्जा असुली प्रक्रियामा रहेको चुनौतीलाई उजागर गर्नुका साथै वित्तीय स्वास्थ्य, नाफा र लगानी विस्तार गर्ने क्षमतामा समेत दबाब सिर्जना गर्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा २० वाणिज्य बैंकमध्ये १९ बैंकको गैरबैंकिङ सम्पत्ति ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ रहेको थियो । यस आधारमा एक वर्षमा गैरबैंकिङ सम्पत्ति ५ अर्ब २३ करोड ५७ लाख रुपैयाँ अर्थात् १२.११ प्रतिशतले वृद्धि भएको छ ।
गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज मसान्तसम्म बैंकको यस्तो सम्पत्ति ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ रहेको बैंकको गैरबैंकिङ सम्पत्ति ७.४० प्रतिशतले बढेको हो ।
त्यस्तै, इन्भेस्टमेन्ट मेगा बैंक ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्तिसहित दोस्रो स्थानमा रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति ३ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ थियो । एक वर्षमा यो रकम ५०.९४ प्रतिशतले बढेको हो ।
प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकको ५ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ अर्ब १० करोड ८५ लाख रुपैयाँ, नबिल बैंकको ३ अर्ब १८ करोड ५४ लाख रुपैयाँ र प्रभु बैंकको ३ अर्ब ५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
गैरबैंकिङ सम्पत्ति बढ्नुको पछाडि विगतमा भएको आक्रामक कर्जा विस्तार र जोखिम मूल्यांकनमा देखिएका कमजोरीलाई पनि प्रमुख कारण मानिएको छ । बजार निरन्तर विस्तार हुने र घरजग्गाको मूल्य बढिरहने अपेक्षामा बैंकहरूले घरजग्गा तथा निर्माण क्षेत्रमा ठूलो परिमाणमा कर्जा प्रवाह गरेका थिए ।
कतिपय अवस्थामा ऋणीको वास्तविक आम्दानी, व्यवसायको दिगोपन र नियमित नगद प्रवाहभन्दा धितोको बजार मूल्यलाई बढी प्राथमिकता दिइएको थियो । सम्पत्तिको मूल्य निरन्तर बढिरहने अनुमानका आधारमा उच्च मूल्यांकन गरेर कर्जा प्रवाह गर्दा तत्काल जोखिम कम देखिए पनि आर्थिक गतिविधि सुस्त हुन थालेपछि त्यही रणनीति बैंकहरूका लागि चुनौती बनेको हो ।
ऋणीले कर्जा भुक्तानी गर्न नसकेपछि बैंकहरूले धितो लिलाम गरी रकम असुल गर्ने प्रयास गरेका थिए । तर, घरजग्गा कारोबारमा आएको मन्दीका कारण सम्पत्ति अपेक्षित मूल्यमा बिक्री हुन सकेन । त्यसपछि बैंकहरूले ऋणीका धितो सकारेर आफ्नै स्वामित्वमा राख्नुपर्ने अवस्था सिर्जना भएको हो ।


































