काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
बैंकका केही संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो। नियामकीय व्यवस्थाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने हुन्छ।
सोहीअनुसार संस्थापक शेयरधनीका लागि आवेदन माग गरिएकोमा कुनै आवेदन नपरेपछि बैंकले संस्थापक समूहबाहिरका सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको जनाएको छ।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी, काठमाडौं–१ वा कुमारी बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौं–२ मा पुग्ने गरी बुझाउनुपर्नेछ।
बैंकका अनुसार बिक्रीमा राखिएको संस्थापक शेयरको मूल्य भने सम्बन्धित विक्रेताले तोकेबमोजिम हुनेछ।

































