काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरेको छ।
बैंकका अनुसार संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो स्वामित्वमा रहेको ८ हजार कित्ता सेयर बिक्री गर्न आवेदन दिएका छन्। त्यस्तै, भेन्चर होल्डिङ्स प्रालि. (साबिक भेन्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालि.)ले १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवश्यक स्वीकृति माग गर्दै सञ्चालक समितिसमक्ष आवेदन दिएको छ।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेको थियो। तोकिएको अवधिमा उक्त सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि बैंकले अन्य इच्छुक व्यक्ति तथा संस्थाका लागि बिक्री प्रक्रिया अघि बढाएको हो।
सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिदसम्बन्धी योग्यता पूरा गरेको प्रमाणित हुने कागजातसहित आवेदन दिनुपर्नेछ। बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवेदन पेस गर्न सकिनेछ।
प्राप्त आवेदन तथा कागजातको अध्ययनपछि प्रचलित कानुनी व्यवस्था र नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


































