काठमाडौँ । महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। असार २६ गते आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले उक्त हबको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्च व्यवस्थापनका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई अझ आधुनिक, सुरक्षित र ग्राहकमैत्री बनाउने रणनीतिअनुसार यो हब सञ्चालनमा ल्याइएको हो।
नयाँ अवधारणाअन्तर्गत ग्राहकहरूले आरामदायी वातावरणमा बसेर नगद जम्मा, झिक्न, चेक क्लियरिङ लगायतका विभिन्न डिजिटल सेवा उपयोग गर्न सक्नेछन्।
यस प्रकारको कफी लाउञ्जसहितको डिजिटल बैंकिङ सुविधा नेपाली बैंकिङ क्षेत्रमा नयाँ अभ्यास भएको दाबी बैंकले गरेको छ। साथै, यसमार्फत ग्राहकलाई डिजिटल सेवाबारे परामर्श प्रदान गर्दै युवापुस्तालाई आकर्षित गर्ने र डिजिटल बैंकिङको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ।
































