काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै वित्तीय सूचकहरूमा सुधार कायम गरेको छ।
प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४.५४ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ।
फि तथा कमिसन आम्दानी १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ कायम भएको छ। नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख रुपैयाँ रहेको छ, जसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा छ।
बैंकको वासलात विस्तार हुँदै कुल आकार ३ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप ३ खर्ब २७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १८ अर्ब २९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। समग्रमा बैंकले वित्तीय सुदृढता कायम राख्दै व्यवसाय विस्तारमा सकारात्मक संकेत देखाएको विश्लेषण गरिएको छ।







































