काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस केही बेरमा सुरु हुने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए।
यसअघि शुक्रवार सहकारी पीडितका तर्फबाट दुई जना र लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको हो।
शुक्रवार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेकोले आज फेरि बहस हुने भएको छ । जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने अदालतको जानकारी छ । शुक्रवार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए ।
उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।


































