पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले कुल बजेटमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत खर्चमा विनियोजन गरिएको जानकारी दिनुभयो।
सरकारले पुँजीगत खर्चतर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ छुट्याएको छ भने चालू खर्चतर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब ३८.५६ प्रतिशत हो।
यो बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ अर्ब रुपैयाँ बढी हो। चालू वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। चालू खर्च अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटाइएको सरकारले जनाएको छ।
संघीय स्रोतबाट प्रदेशले वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ र रोयल्टी बाँडफाँडबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेशले आन्तरिक स्रोतबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ। साथै चालू वर्षको २ अर्ब रुपैयाँ मौज्दात रहने र आगामी वर्षका लागि १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने अर्थमन्त्री शेरचनले जानकारी दिनुभयो।

































