काठमाडौं । वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भए पनि त्यसको प्रभाव भन्सार राजस्वमा अपेक्षाअनुसार देखिन सकेको छैन। गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात उल्लेख्य रूपमा बढ्दा पनि भन्सार राजस्वको वृद्धिदर सीमित देखिएको हो।
भन्सार विभागको विवरणअनुसार सो आर्थिक वर्षमा सरकारको भन्सार राजस्व संकलन लक्ष्य ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ तोकिएको थियो। तर, वर्षभरमा ५ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ मात्र उठ्न सकेको छ, जुन लक्ष्यको करिब ८७.६ प्रतिशत हो।
उक्त अवधिमा कुल आयात २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्ब रुपैयाँ रहेको आयात एक वर्षमै करिब २ खर्ब ९२ अर्ब रुपैयाँले बढेको देखिन्छ। तर, आयात विस्तारको अनुपातमा भन्सार राजस्व बढ्न नसक्दा राजस्व संकलनको गति सुस्त देखिएको छ।
विशेषज्ञहरूका अनुसार विभिन्न परियोजना, उद्योग तथा प्राथमिकता प्राप्त क्षेत्रमा दिइने भन्सार छुट र न्यून दरमा महसुल लाग्ने वस्तुको हिस्सा उच्च हुनु यसको मुख्य कारण हो। यस्ता व्यवस्थाले आयात बढे पनि राजस्व वृद्धिमा प्रत्यक्ष योगदान कम देखिएको छ।
विभागीय तथ्यांकले आर्थिक वर्षभर कुनै पनि महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको देखाउँछ। चैत महिनामा सबैभन्दा उच्च ९५.२ प्रतिशत संकलन भएको थियो भने माघमा ९३.८ प्रतिशत र असारमा ९२.९ प्रतिशत संकलन भएको थियो। यसको विपरीत कात्तिक महिनामा सबैभन्दा कमजोर प्रदर्शन हुँदै लक्ष्यको ७२.६ प्रतिशत मात्र राजस्व उठेको थियो।
यसैबीच, अघिल्लो वर्षको तुलनामा जेठ महिनामा भने राजस्व संकलन घटेको छ। २०८१/८२ को जेठमा ४९ अर्ब ६२ करोड रुपैयाँ उठेकोमा २०८२/८३ को सोही महिनामा ४७ अर्ब ८६ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन ३.६ प्रतिशतको गिरावट हो।



































