काठमाडौँ । नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्ने काम सकेकाे छ । राष्ट्र बैंककाे टक्सार महाशाखाले आज (मंगलबार) सुन गाल्ने काम सकेकाे हाे ।
गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका अधिकृतले बताएका छन् ।
साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।
टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।
सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।
सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।




































