काठमाडौं। साताको दोस्रो कारोबार दिन शेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । लामो समयको बजारको ओरालो यात्रालाई ब्रेक गर्दै आज परिसूचक बढेको हो ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएकै दिन आज (सोमबार) नेप्से ३५.६४ अंकले बढेको हो ।सोमबार क्यापिटल मार्केटमा एक करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भयो । यसदिन सबै म्युचुअल फण्डबाहेक सबै सूचकमा उत्साहजनक हरियाली छाएको छ।
सोमबार सबैभन्दा धेरै जीवन बीमा उपसूचकमा तेहरो अंकको उत्साहजनक वृद्धि भएको छ भने निर्जीवन बीमा समूह पनि तेहरो अंकमा वृद्धि हुन पुगेको छ । बैंक र लगानी उपसूचक एकल अंकले वृद्धि हुँदा अन्य उपसूचकहरुमा दोहोरो अंकको वृद्धि देखिएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको थियो । आइतबार नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको थियो । सोमबार भने नेप्से २०५८.५६ विन्दुमा पुगेर रोकिएको छ।
आज सेयर बजारमा बढोत्तरी आउँदा माउन्टेन इनर्जी, त्रिशूली जलविद्युत कम्पनी,तेह्रथुम पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी,हिमालयन रिइन्स्योरेन्स, समाज लघुवित्त, साम्लिङ पावर कम्पनी, कालिका पावर कम्पनी मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।





































