काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने प्रतिबद्धता जनाएको छ ।
महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएसम्म सरकारले निर्धारण गरेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने जनाएको हो ।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सार्वजनिक यातायातको भाडा बढाउने योजना नरहेको स्पष्ट पारे । चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भए पनि त्यसलाई अवसर बनाएर यात्रुसँग अतिरिक्त भाडा नलिने उनले बताए ।
उनका अनुसार दसैँलगायतका चाडपर्वमा अग्रिम टिकट बुकिङको व्यवस्थापन गर्नुका साथै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायीको मुख्य जिम्मेवारी हो । सडकको कमजोर अवस्था र विभिन्न स्थानमा भइरहेका अवरोधका कारण यातायात सञ्चालन चुनौतीपूर्ण भए पनि सरकारसँग समन्वय गरी सेवा नियमित राख्ने प्रयास गरिने उनले बताए ।
आधिकारिक काउन्टरबाट मात्रै टिकट बिक्री गर्नुपर्ने
अध्यक्ष सिटौलाले सार्वजनिक यातायातमा हुने बिचौलियाको गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिए । यात्रु ठगी रोक्न तोकिएका बसपार्क तथा आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट बिक्री गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
‘तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ,’ उनले भने ।
महासंघले सरकारले सवारीसाधनको प्रकारअनुसार निर्धारण गरेको भाडादर व्यवसायीले अनिवार्य रूपमा पालना गर्ने जनाएको छ । सामान्य, डिलक्स र सुपर डिलक्स सवारीसाधनका लागि तोकिएको दरअनुसार नै यात्रुलाई सेवा उपलब्ध गराइने सिटौलाले बताए ।
यात्रुवाहक सवारीलाई प्राथमिकता दिन माग
चाडपर्वमा एकतर्फी यात्रुको चाप अत्यधिक बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि सरकारले विशेष योजना बनाउनुपर्ने महासंघको माग छ ।
यात्रुवाहक सवारीसाधनको सहज आवागमनका लागि निश्चित अवधिसम्म मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने र सडक मर्मतलाई तीव्रता दिनुपर्ने सिटौलाले बताए ।
‘दसैँको समयमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिनुपर्छ । बाटोका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षाका लागि १५–२० दिन विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।
महासंघले चाडपर्वका लागि अग्रिम बुकिङ भइसकेका सवारीसाधनलाई अन्य प्रयोजनमा रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिएको पनि जनाएको छ । यात्रुको चापलाई ध्यानमा राख्दै अग्रिम बुकिङ गरिएका सवारीसाधन नियमित सञ्चालन गर्ने व्यवस्था मिलाइने सिटौलाले बताए ।
लामो दूरीमा दुई चालकको व्यवस्था
लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने महासंघले जनाएको छ ।
लामो यात्राका क्रममा चालकलाई पर्याप्त आराम र विश्रामको व्यवस्था गर्न सके सडक दुर्घटनाको जोखिम घटाउन सकिने महासंघको भनाइ छ ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सरकारले तत्काल त्यसको भार नागरिकमाथि थोपर्न नहुने सिटौलाले बताए । आवश्यक परे नागरिकको हितलाई प्राथमिकतामा राख्दै सरकारले घाटा सहेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्नुपर्ने उनको धारणा छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएसम्म सार्वजनिक यातायातको भाडा पनि नबढाउने प्रतिबद्धता महासंघले दोहोर्याएको छ । चाडपर्वमा यात्रुको चाप, सडकको अवस्था र यातायात व्यवस्थापनमा देखिने चुनौती समाधानका लागि सरकार र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको सिटौलाले बताए ।































