काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिफल बाँड्ने तयारी अघि बढाएका छन् । हालसम्म ८ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । यी बैंकको प्रस्ताव हेर्दा लाभांशको दर २.१०५३ प्रतिशतदेखि २० प्रतिशतसम्म रहेको छ ।
लाभांश घोषणा गर्ने बैंकमा एभरेष्ट बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र नबिल बैंक छन् । केही बैंकले बोनस र नगद दुवैलाई प्राथमिकता दिएका छन् भने केहीले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् ।
तर, सञ्चालक समितिले गरेको घोषणा अन्तिम भने होइन । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।
हालसम्म घोषणा भएकोमध्ये सिद्धार्थ बैंकको लाभांश दर सबैभन्दा धेरै छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यसमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश समावेश छ । बोनस र नगद दुवैको रकम १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबर हुन्छ ।
अग्राधिकार सेयरधनीका लागि पनि बैंकले ८.५ प्रतिशत अर्थात् १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंक र नबिल बैंकले पनि दोहोरो अंकमा आकर्षक लाभांश प्रस्ताव गरेका छन् ।
एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । नगद लाभांशमा करसमेत समावेश छ ।
नबिल बैंकले भने कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बोनस सेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ ।
नबिल बैंकले ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ पनि ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश प्रस्ताव गरेको छ ।
सानिमा बैंकले साधारण सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअनुसार १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ वितरण हुनेछ ।
अग्राधिकार सेयरधनीका लागि भने ८.२५ प्रतिशत अर्थात् ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ ।
यता ग्लोबल आइएमई बैंकले पनि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
माछापुच्छ्रे बैंकले सेयरधनीका लागि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सिटिजन्स बैंकले भने ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमध्ये ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको छ ।
सिटिजन्स बैंकको कायम चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँ रहेकाले प्रस्तावित बोनस सेयरको रकम ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा र नगद लाभांश ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा रहेको छ ।
कुमारी बैंकका सेयरधनीका लागि भने यसपटकको लाभांश घोषणा केही फरक छ । बैंकले तीन वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २.१०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।
भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । बैंकका अनुसार रिकभरीमा सुधार भई प्रोभिजनिङबाट बचत भएको रकमबाट लाभांश वितरण गर्न लागिएको हो ।
यी सबै लाभांश अहिले सञ्चालक समितिको प्रस्तावका रूपमा रहेका छन् । सम्बन्धित बैंकले प्रस्ताव राष्ट्र बैंकमा पठाउनेछन् । नियामकीय स्वीकृति पाएपछि वार्षिक साधारणसभामा लाभांश प्रस्ताव पेस गरिनेछ ।
साधारणसभाबाट पारित भएपछि मात्रै लाभांश वितरणको बाटो खुल्नेछ । त्यसैले प्रस्तावित दरलाई अन्तिम लाभांशका रूपमा बुझ्न भने मिल्दैन ।



































