काठमाडौँ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा शनिवार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको थियो ।
एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन्। इलाम-२ मा निर्वाचन सुरु, मतदाताको उत्साहजनक उपस्थितिमा उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
२०७९ मङ्सिर ४ को निर्वाचनमा नेम्वाङले काँग्रेसका डम्बर खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । पहिलो पटक निर्वाचन भएको करिब १८ महिना ११ दिनपछि हुन लागेको उपनिर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । पहिचानवादी पक्षका उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ ।
इलाम २ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा पर्छन् । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएको छ ।
यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् । प्रमुख जिल्ला अधिकारी इन्ददेव यादवका अनुसार ३९ सामान्य, २१ संवेदनशील र १९ अति संवेदनशीलको रूपमा राख्दै त्यहाँ निगरानी बढाइएको छ ।


































