काठमाडौ । पछिल्लो केही समययता नेपालमा केवलकारहरुमा गर्ने लगानीमा बृद्धि भैरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार नेपालमा हालसम्म ८ वटा केबलकार सञ्चालनमा रहेका छन् भने थप ६ वटा केबलकार निर्माण हुने क्रममा रहेका छन् ।
मनकामना, चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक, मौलाकालिका, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा आइसकेका छन् । पाथिभरा, सुदूरपश्चिमको जलपादेवी, कास्कीको सिकलेस, तनहुँको छिम्केश्वरी, काठमाडौंको चाल्नाखेल र पोखरा मुक्तिनाथ केबलकार परियोजना निर्माणको चरणमा रहेका छन् ।
आइपिओ जारी गर्ने तयारीमा यी केवलकार कम्पनी
करिब ३ अर्ब लागतमा निमार्ण भएको नेपालकै दोस्रो केवलकार चन्द्रागिरि केबलकार पनि आइपिओ निष्कासन गर्नका लागि नेप्सेमा सुचीकृत भएको छ । २०७३ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो केवलकार चन्द्रागिरी हिल्स लिमिटेडको नामले नेप्सेमा सूचीकृत भएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९०९ कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ । यस्तै करिब ४५ करोड रुपैयाँको लागतमा दोलखामा सञ्चालनमा रहेको कालिन्चोक केबलकार परियोजना पनि नेप्सेमा सुचीकृत भएको छ । २०७५ कात्तिकदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो परियोजना कालिन्चोक दर्शन कम्पनीका नामले नेप्सेमा सूचीकृत रहेको छ । करिब ६० करोड चुक्ता पुजीँ रहेको यस कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर जारी गरेको हो ।
यसैबीचमा ३ ओटा केवलकार कम्पनी नेप्सेमा सुचीकृत हुने तयारीमा रहेका छन् । कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकार र तनहुँको बन्दीपुरमा निर्माण भएको बन्दीपुर केबलकार पनि नेप्सेमा सुचीकृत हुने तयारीमा रहेका छन् ।
यस्तै तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण भएको बन्दीपुर केबलकार पनि आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति माग गरेको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति माग गरेको छ ।
यता प्रभु केबलकार एण्ड टुरिजमले पनि सार्वजनिक सेयर निष्कासन (आइपीओ) जारी गर्ने तयारी गरेको छ । प्रभु केबलकारले ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरिरहेको बताइएको छ । यसबाहेक गैडाकोटमा मौलाकालिका, लुम्बिनीमा लुम्बिनी केबलकार पनि सञ्चालनमा रहेका छन् । गैडाकोटमा रहेको गैडाकोट केवलकार नेपालको पाँचौं केवलकार हो भने यसमा आइएमई समूहको लगानी रहेको छ । यस्तै लुम्बिनी प्रदेश लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी केबलकार कुल ५ अर्ब लागतमा निर्माण भएको हो । जुन नेपालको छैठौं केवलकार हो ।
निर्माण तयारीमा रहेका केबलकारहरु
पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म आइएमई ग्रुपको करीब २ अर्ब ५५ करोड लागतमा २.७४ किलोमिटर दूरीमा केवलकार बन्न लागेको हो ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आएमई ग्रुपको करिब सात अर्ब लगानीमा सुदूरपश्चिमको चिसापानीमा पनि जालपादेवी केबलकार निर्माण हुन लागेको छ । चिसापनीदेखि राजकाँडासम्म केबलकारको कूल लम्बाई ३.१ किलोमिटरको रहने छ।
यता पर्यटकीय जिल्ला कास्कीमा थप एक केवलकार निर्माण भैरहेको छ । अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा ६.४१ किलोमिटर लामो केवलकार निर्माण गरिरहेको छ । जसको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख अनुमान गरिएको छ ।
यस्तै तनहुँको छिम्केश्वरीमा पनि करिब तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो ।
यता काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार निर्माण भैरहेको छ । चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले निर्माण गरिरहेको यो केवलकारका लागि करिब ६ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
मुक्तिनाथ दर्शन केबलकार आयोजनाले ८४ किलोमिटर लामो केबलकार दुरीको केबलकार निर्माण गरिरहेको छ । जसका लागि करिब ५० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।


































