काठमाण्डौ । चीनले ईरानी कच्चा तेल खरिदमा संलग्न आफ्ना कम्पनीहरूमाथि अमेरिका ले लगाएको प्रतिबन्धलाई अस्वीकार गरेको जनाएको छ।
चीनको वाणिज्य मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्त विपरीत रहेको उल्लेख गरिएको छ। साथै, यस्ता कदमले विभिन्न देशबीचका सामान्य आर्थिक तथा व्यापारिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने चेतावनी पनि दिइएको छ।
मन्त्रालयले चिनियाँ कम्पनी तथा संस्थाहरूलाई उक्त प्रतिबन्धलाई बेवास्ता गर्न निर्देशन दिएको स्पष्ट पारेको छ। चीनले संयुक्त राष्ट्रसंघको स्वीकृति बिना लगाइने एकपक्षीय प्रतिबन्धहरूको निरन्तर विरोध गर्दै आएको पनि जनाएको छ।
यसैबीच, अमेरिकाले हालै अर्को एक चिनियाँ कम्पनीमाथि पनि कारबाही गरेको छ। उक्त कम्पनीले ठूलो मात्रामा ईरानी तेल आयात गरी ईरान लाई उल्लेखनीय आम्दानी जुटाएको आरोप लगाइएको छ। यद्यपि, चिनियाँ पक्षले सम्बन्धित कम्पनीको नाम सार्वजनिक गरेको छैन।
यो विषय त्यस्तो समयमा बाहिर आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को चीन भ्रमणको तयारी भइरहेको छ। सो अवसरमा चिनियाँ राष्ट्रपति शी चिनफिङ सँग उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ। विश्लेषकहरूले यस घटनाले दुई देशबीचको व्यापार र कूटनीतिक सम्बन्धमा थप तनाव ल्याउन सक्ने संकेत गरेका छन्।






































