काठमाडौं । ईपीएस कोरियन भाषाको नतिजा प्रकाशित भएको छ। ईपीएस एचआरडी कोरिया शाखाले २०८० को फागुन ७ गतेदेखि चैत २४ गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना पास भएका छन्। अब पहिलो चरणको परीक्षा उत्तीर्ण गरेकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्नेछ।
ईपीएस कोरिया शाखाका अनुसार स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने छ। परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा ल्यानुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरी, नयाँ परीक्षार्थीहरूको दोस्रो चरणमा २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म परीक्षा गरिने भएको छ। उक्त परीक्षामा ७९ हजार ९३७ जना सहभागी हुने बताइएको छ। साथै तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म चल्नेछ। सो परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्।
ईपीएस मार्फत कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि १ लाख ६३ हजार ६३५ जना नेपालीले आवेदन फारम भरेका छन्।


































