काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । बधाई तथा कार्यकाल सफलताको कामना गर्न आएको नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै उनले पुनले मनोबलका साथ लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् ।
अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र, सरकार र आमजनताबीच सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नीतिगत र व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको प्रतिबद्धता जनाए । धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए ।
‘उद्योगी–व्यवसायी र समग्र निजी क्षेत्रलाई निरुत्साहित हुन दिन्न । यो मेरो जिम्मेवारी हो’ पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी नीतिगत व्यवस्था र व्यवहारिक सहजीकरण गर्छ । सरकार, निजी क्षेत्र र आमजनताको हातेमालोमा अर्थतन्त्रका समस्या समाधान भएर जान्छ भन्ने आत्मविश्वासका साथ १२ वर्षपछि दोश्रोपटक मन्त्रालयमा आएको छु ।’
तर, नियामक निकायले पनि सहजीकरण गर्नुपर्नेमा अनावश्यक समस्या सिर्जना गर्न नहुने उनको भनाइ थियो । एउटा सेक्टरका कसैले गल्ती गर्दैमा सो क्षेत्रका सबैलाई उत्तिकै दोषी देख्ने प्रवृत्ति समाजमा देखापर्न थालेको चर्चा गर्दै पुनले सबै मिलेर त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
‘एउटा राजनीतिज्ञले गल्ती गर्दा राजनीतिमा लागेका सबै खराब, एउटा व्यवसायीले गल्ती गर्दा व्यवसायीजति सबै खराब, सुरक्षा निकायको एउटा व्यक्तिले गल्ती गर्दा सिंगो सुरक्षा संयन्त्र नै खराब भन्ने जस्तो प्रवृत्ति समाजमा देखिन थालेको छ’, पुनले भने, ‘आफूमाथि सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ सबैले दिनुपर्छ ।
तर, कुनै एक जनाले गल्ती गर्दा पूरै सेक्टर नै गलत भन्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।’ मन्त्री पुनले ‘पहिला सुन्ने, अनि थुन्ने’ भन्ने उद्योगी–व्यवसायीका मागमा आफ्नो समर्थन रहेको स्पष्ट गरे । राज्य नागरिकको अभिभावक भएकाले सबै नागरिकले आफू, परिवार र निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्नेमा आफू अडिग रहने पनि पुनले बताए । राज्य जनताको अभिभावक भएकाले एउटा सेक्टरको कसैले गल्ती गर्दैमा त्यस सेक्टरका सबैलाई ठीक पार्छु भनेर तर्साउन नमिल्ने तर्क उनको थियो ।


































