काठमाडौँ । गत साता २६७५.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७४ प्रतिशत अर्थात् ७३.२७ अंक बढेर २७४८.७८ विन्दुमा पुगेको छ। समग्रमा यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ।
यस साता भएको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको हो। यस साताको मंगलबार र बुधवार नेप्से सामान्य करेक्सन देखिएको हो। नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ।
गत साता दैनिक औषतमा ४ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ४४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १००.१६ प्रतिशत बढेको हो।
यस साता सेन्सेटिभ इण्डेक्स ८.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९६ अंकले बढेको छ। यस साता दैनिक औषत शेयर सङ्ख्या ८९.२४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार सङ्ख्या ८५.५३ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता २.७६ प्रतिशत अर्थात् १ खर्ब १७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७६ अर्ब पुगेको छ।
१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.५६ प्रतिशत बढेको छ। गत साता ३४९७.४४ विन्दुमा बन्द भएको नेप्से, यस साता २६४.३३ अंक बढेर ३७६१.७७ विन्दुमा पुगेको छ।
नेप्सेमा यस साता ४ कम्पनीको १ करोड २४ लाख ५४० कित्ता शेयर सूचीकृत भएको छ। यस साता समाज लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्यूब आयलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

































