National life

काँक्रो खेतीबाट मनग्य आम्दानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
588Shares
काँक्रो खेतीबाट मनग्य आम्दानी
ncell

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्ने गरेका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहजरूपमा चलाएका छन् ।

“एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उनले भने, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उनले बताए ।

“अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्याइसक्छौँ”, उनले भने, “त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्याई बेच्छौँ ।” बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उनले बताए।

उनले काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्छन् । काँक्रो र तरकारी खेती गरी वर्षमा रु १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्छन् । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उनले जोडेका छन् ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आएका छन् । दुई बिघा जग्गामा उनले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आएका छन् । “वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ”, भरतका दाजु लक्ष्मणले भने, “अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।”

व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उनले उल्लेख गरे । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताए । “बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाई गर्ने किसानमा उहाँको गणना हुन्छ”, उनले भने, “तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उहाँ एक नम्बरमा हुनुहुन्छ।”

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताए । “भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन्”, उनले भने, “वैदेशिक रोजगारीमा जाने युवालाई उहाँले व्यावसायिक खेती गरेर गरेको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।” रासस

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?