काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबसेको बताएका छन् । आज निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरुसँग बसाईमा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताउँदै निमार्ण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनिमन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको बताएका छन् ।
उनले सम्बन्धित निकायहरूलाई निमार्ण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको समेत बताएका छन् ।
अर्थमन्त्री पौडेलले निमार्ण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने बताउँदै उनले भने,‘निमार्ण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुस् । निमार्णसँग जोडिएका समस्या समाधान सरकार लाग्छ । निमार्ण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछौ । समस्या समाधान गरेर अघि बढ्छ । भुक्तानी समाधान गर्ने छलफल गरिरहेका छौँ । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ ।’
भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरे । उनले त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग गरे । भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार दिनुपर्ने बताए ।


































