काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्येमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरेको थियो ।
जसअनुसार ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।
यसैबिच विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुई कोषलाई आग्रह गरेको छ।


































