काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाएको छ। प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
उक्त पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराएका छन्।
सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लािग फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाएको जानकारी दिए। उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ।
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् । नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी पार्टी आबद्ध छन्।


































