काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) को अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) कर्जा ले बढेको छ प्रवाह भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब १० अर्ब १ करोड अर्थात् २.३ प्रतिशतले बढेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूबाट मंसिर मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ ।
यस्तो अंश अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८१-८२ को ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ भएको कर्जा प्रवाहमा ०.७ प्रतिशतले कमी आएको छ।
































