काठमाडौं । सरकारले भारतबाट कच्चा पदार्थको रुपमा १९ हजार मेट्रिकटन चिनी आयातका लागि आशयपत्र माग गरेको छ ।
भारतले औद्योगिक कच्चा पदार्थको रुपमा २५ हजार मेट्रिकटन चिनी नेपाललाई उपलब्ध गराउने घोषणा गरेको छ । सोही अनुसार त्यसमध्ये १९ हजार मेट्रिकटन चिनी कच्चा पदार्थको रुपमा नेपालमा ल्याउन चाहने उद्योगहरुसँग उद्योग विभागले आशयपत्र माग गरेको हो ।
विभागले आईतबार सूचना सार्वजनिक गर्दै ७ दिनभित्र आशयपत्र इमेलमार्फत अर्थात भौतिक रुपमै बुझाउन आग्रह गरेको छ ।
यस्तै उद्योगले गर्ने बार्षिक चिनीको खपत, गत बर्षको खपत, कति आयात गर्न चाहेको, उद्योग संचालनमा रहेरनरहेको समेत खुलाउनुपर्ने कुरा सूचनामा उल्लेख छ ।
यसअघि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको द्विपक्षीय महाशाखाले चालु आवका लागि २५ हजार मेट्रिटन चिनी नेपाललाई उपलब्ध गराउन भारत सरकारसँग आग्रह गरेको थियो । सोही अनुसार भारले पनि उक्त चिनी निर्यात गर्ने घोषणा गरेको थियो ।
यसअघि उद्योगीहरुले ६ हजार मेट्रिटन चिनी भारतको नेशन कोअपरेटिभ्स एक्पोर्ट लिमिटेडबाट आयात गरिसकेका छन् । बाँकी रहेको १९ हजार मेट्रिकटन आयातका लागि दोस्रोपटक आशयपत्र माग गरिएको हो ।



































