काठमाडौँ। दाजुभाइ दिदीबहिनीको पवित्र पर्व मानिने तिहार पर्व नजिकिएसँगै मखमली फूल उत्पादनका लागि मुख्य क्षेत्र मानिने भक्तपुर गुण्डुका किसानहरूलाई अहिले माला बनाउन भ्याई नभ्याई छ।
तिहार आउन केही दिन मात्रै बाकी रहँदा विशेष गरी भक्तपुरको गुण्डुका महिलाहरू मखमली फूल टिप्न र माला गाँस्नमा व्यस्त देखिन्छन् । भाइटिकाको लागि आवश्यक मानिने मखमली फूल टिप्न र बजारसम्म पुर्याउन किसानलाई तिहार आउनुअघि नै भ्याई नभ्याई हुन्छ भने पछिल्लो समय व्यापारीहरूले घरमै आएर किसानहरूले बनाएका माला लिएर जाने गरेका छन् ।
गुण्डुका लगभग हरेक घरमा मखमली फूलको खेती हुन्छ ।
नेपालमा हरेक वर्ष ३ करोडको हाराहारीमा मखमली फूल उत्पादन हुने गरेको तथ्याङ्क छ । जसबाट करिब ७ लाख माला उत्पादन हुने गरेका छन् । उत्पादन भएको मध्ये करिब ५ लाख माला नेपालमा नै खपत हुने गरेका छन् भने करिब २ लाख माला विदेशसम्म निर्यात हुने गर्दछन्।
यो वर्ष मखमली फूलको मालाहरू होलसेलमा २०–२५ रुपैयाँमा बिक्री भइरहेको भक्तपुरको गुण्डु क्षेत्रका किसानहरूको भनाई रहेको छ।
माला बनाउनकै लागि मखमली टिप्दै गरेकी बिन्दा परियारले मखमली फुलको खेती गरेर माला बनाउँदै आएको १५–२० वर्षभन्दा बढी भएको बताइन् ।
उनले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भनिन्, ‘यो त हाम्रो पुर्ख्यौली पेसा जस्तै हो । मैले नै माला उनेर बेच्न थालेको १५–२० बर्सभन्दा बढी भइसक्यो ।’ यसपालि अहिलेसम्म मात्रै ८ हजार जति मला बेचिसकेको उनले हामीलाई सुनाइन । एउटा माला सानो ठुलो गरेर २०–२५ रुपैयाँमा बेच्ने गरेको उनले सुनाइन् ।
मखमली फूल टिप्न बिहानै बारीमा पुग्न सके राम्रो हुने उनी बत्ताउँछिन् ।
भक्तपुरस्थित गुण्डुकी विजया भुजुले पनि मखमली फूलको खेती गरेकी छन् । उनी पनि आर्थिकभ्वाइसको टोली पुग्दा मखमली फुलको माला नै गाँसी रहेकी थिइन् । उनले पनि यस पटक तिहार सुरु हुनुभन्दा अगावै करिब १८–१९ हजार वटा मखमली फूलका माला बेचिसकेको उनले बताइन्।
मखमली फूल जता रोप्दा पनि हुने भएकाले घरमै बस्ने कृषकलाई फाइदा नै बिन्दा परियारको भनाई छ । तर व्यावसायिक रूपमा हेर्दा त किसानहरूलाई घाटा हुने उनी बत्ताउँछिन् ।
‘फूल टिपेर माला उन्दा निकै सचेत भएर काम गर्नुपर्छ, सियोले औँला घोप्छ, बाङ्गाटिङ्गा हुनुहुदैन् । तर पनि एउटा मालाको २० देखी २५ रुपैयाँ मात्रै पाउँछौ । मिहिनेत हेर्दा त यो थोरै हो नि । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ घरमा यत्तिकै बसेर मखमली फूलको माला बेच्नेलाई भने फाइदै हुन्छ ।’
यस्तै गुण्डुमै माला उनेर नै बसीरहेकी कान्छी तामाङले यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताइन । उनले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताइन । आफूसँग किनेर लैजानेहरूले बढी नाफा खाने गरेको तर किसानलाई भने दुःख र मेहनतअनुसारको मूल्य नभएको उनको गुनासो छ।
उनले भनिन, ‘भाउ कहिले पनि बढेन । हामीले प्रतिमाला २५ भने पनि २०–२२ रुपैयाँ मात्रै दिन्छन् । उनीहरू बाहिर पठाउँदा बढी नाफा खान्छन् । पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानु पर्दैन भन्ने मात्रै हो । दुःख र मेहनत अनुसार मूल्य छैन ।’
फुलमा पनि बेलाबेलामा विभिन्न रोगहरू लाग्ने भएकोले औषधीहरू छर्किनुपर्ने । फुल टिप्नका साथै माला गाँस्नका लागि पनि कतिपय किसानहरूले त खेताला नै राखेर काम गर्ने गरेका छन् ।
गत वर्षको तिहारमा सयपत्री, गोदावरी र मखमली फूलका माला मात्रै ११ करोड ५६ लाख बराबर मूल्य बराबरका १९ लाख ३५ हजार माला खपत भएको नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको थियो । यस्तै गत आर्थिक वर्ष देशभर दुई अर्ब ३७ करोड ४८ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो ।
त्यसमध्ये आन्तरिक फूलको कारोबार दुई अर्ब एक करोड ४३ लाख रुपैयाँ र बाँकी ३६ करोड पाँच लाख रुपैयाँ बराबरको अन्य फूल, मालालगायत बिरुवाहरूको आयात भएको एसोसिएसनको तथ्याङ्क छ । एसोसिएसनको तथ्याङ्क गत आर्थिक वर्षमा १ सय ६ प्रतिशतले फूल निर्यात बढेको थियो।
सरकारले उन्नत प्रकारको फुलहरूको बीउ बिजन तथा औषधीहरू दिएमा किसानहरूलाई केही सजिलो हुने किसानहरूको भनाई छ । यस्तै स्थानीय सरकारले पनि फूल तथा मालाहरूको भाउ तोक्न नसकेको र बेच्नका्े लागि सजिलो हुनेगरी निश्चित स्थान पनि तोकिदिन नसकेको गुनासो उनीहरूको छ ।


































