काठमाडौं । राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असन, तिहार नजिकिएसँगै भाइमसला किन्नेहरूको कारण झनै व्यस्त देखिन थालेको छ ।
विशेषतः तिहार सुरु भइसकेपछि मात्रै कुकुर तिहार, लक्ष्मी पूजा र गोवर्धन पूजाको दिन अत्यधिक भाइ मसला बिक्री हुने भएपनि अहिलेदेखि मानिसहरू मसला किन्न थालिसकेकाले असन क्षेत्र केही व्यस्त देखिएको हो ।
भाइ मसलामा प्रयोग हुने नरिवल, छोकडा, काजु, किसमिस लगायत सामग्रीको मूल्य दिनप्रतिदिन बढ्दो छ । मसलाको मूल्य यसपालि करिब करिब दोब्बरले बढेको व्यापारी आफैँ स्वीकार गर्छन् ।
असनका केही खुद्रा मसला पसलेका अनुसार यस वर्ष काजु प्रति केजी २ हजार रुपैयाँ, छोकडा ७ सय रुपैयाँ, बदाम १ हजार ८ सय रुपैयाँ, किसमिस ६ सय रुपैयाँ, पेस्ता २ हजार एक सय रुपैयाँ, ओखर ५ सय रुपैयाँ, नरिवल ५ सय देखी ६ सय रुपैयाँ, सुकुमेल २ हजार रुपैयाँ, सुपारी ६ सय रुपैयाँ, मिस्री १ सय ८० देखी २ सय रुपैयाँ, त्यस्तै प्रतिकेजी ल्वाङ १ हजार ५ सय रुपैयाँ रहेको छ ।
यो मूल्य खुद्रा विक्रीको औसत मूल्य हो । काठमाडौंमा बिक्री हुने मसलाहरूको गुणस्तर र ठाउँ अनुसार पनि मूल्य फरक फरक रहेको पाइन्छ ।
असनमा मसलाहरूको व्यापार गर्दै आएका गोविन्द गिरीले भाइमसलामा हुने काजु, अलमण्ड, ओखर, सुपारी, खजुर, नरिवल, किसमिस, पिस्ता तथा बदाम जस्ता ड्राइ फ्रुट्सको भाउ पनि गत वर्षभन्दा दोब्बरले बढेको आर्थिक भ्वाइसलाई बताए ।
‘पोहोर भन्दा त दोब्बरले बढेको छ नि मसलाहरूको भाउ त ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने ।
उनका अनुसार यस वर्ष काजु १९ सय देखी २ हजार रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ । यस्तै पेस्ता पनि १९ सय देखी दुई हजार रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । ओखर पाँच सय रुपैयाँ प्रति केजी, किसमिस पाँच सय, नरिवल पाँच सय रुपैयाँ प्रति केजीमा बिक्री हुँदा मिस्री १८० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेको उनले बताए ।
पोहर साल दिनमा १ देखी डेढ लाखसम्म व्यापार हुने गरेकोमा यसबर्ष भने मध्यदिन ढलिसक्दासम्म पनि व्यापार नभएको दुखेसो उनले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा पोखे ।
अरू वर्षहरूमा ठुलो परिमाणमा खपत हुने गरेको भाइमसलाको व्यापारमा यसबर्ष भने केही कमी आएको व्यापारीहरूको भनाई छ ।
असनकै अर्का व्यापारी सरोज महर्जन पनि यो वर्षको व्यापारमा कमी आएको बताउँछन् । ‘हरेक चाडबाडमा सामानको मूल्य बढ्छ नै, तर यो वर्ष भने भाइ मसलाको मूल्य धेरै नै बढेको छ, ग्राहकहरू आउँछन् तर मसलाको मूल्य सोध्दै फर्कन्छन् ।’ महर्जनले आर्थिक भ्वाइससँग भने ।
तिहारको लागि चाहिने मसलामध्ये केही प्रकारका मात्रै नेपालमा उत्पादन हुने गर्दछ । तर, नेपालको उत्पादनले मात्रै बजारको माग धान्न नसक्ने भएकोले अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गर्दछ ।
भन्सार विभागले आर्थिक भ्वाइसलाई उपलब्ध गराएको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा यस वर्ष ड्राइ फ्रुट्सको आयातको परिमाण घट्दा भने लागत भने बढेको छ । जसले पनि गत वर्षको भन्दा यस वर्ष भाइ मसला महँगो भएको हो ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ३ महिना अर्थात् असोज मसान्तसम्ममा १ करोड ८ लाख ६५ हजार रुपैयाँ बराबरको ३ हजार ५ सय ५३ केजी भाइ मसला अर्थात् ड्राइ फ्रुट्स आयात भएको छ । उक्त सामाग्रीहरूको आयातबाट सरकारले ८ लाख २३ हजार बरावरको राजस्व सङ्कलन गरेको छ ।
गत वर्ष यहीँ अवधिमा १ करोड ६ लाख ५२ हजार बराबरको ६ हजार ८ सय १२ केजी भाइ मसला आयात भएको थियो । जसबाट सरकारले ७ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
नेपालमा यस्ता मसलाहरू चीन, भारत, अमेरिका र अस्ट्रेलिया, अफगानिस्तान, भियतनाम, कतार लगायतका देशबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।
































