आर्थिक भ्वाइस संबाददाता
काठमाडौं । नेपालकै सबैभन्दा धेरै महँगो जग्गा भएको ठाउँ मध्ये एक हो दरबारमार्ग । जग्गै महँगो भएपछि सटर भाडा पनि महँगो हुने भई नै हाल्यो ।
तर, दरबारमार्गको सटर भाडा महँगो हुनुको कारण जग्गा मात्रै महँगो भएर भने होइन । जग्गाको मूल्यको कुरा गर्दा दरबारमार्ग र न्यूरोड वा असनको जग्गाको मूल्य एउटै छ ।
दरबारमार्ग महँगो हुनुमा धेरै कारण होलान । त्यो मध्ये एउटा कारण त्याहाँका ग्राहक पनि हुन् । ब्रान्डेड सामान किनबेच हुने दरबारमार्गका पसलमा उच्च आय भएका, उच्च ओहदामा बसेका, सेलीब्रेटी र यूरोप अमेरिकामा बस्ने परिवारका सदस्यहरुले मात्रै दरबारमार्गमा किनमेल गर्छन् । जबकी न्यूरोड असनमा निम्न र मध्यम आय भएका क्रेताहरु हुन्छन् ।
यस अघि असन र न्यूरोड क्षेत्रको व्यवसायिक चहलपहलबारे समाचार प्रकाश गरेका थियौं । जहाँ आधा मूल्यमै सामान लैजाउन भन्नलाई समेत ग्राहक नआएको व्यवसायीहरुले गुनासो गरेका थिए । आर्थिक मन्दीको प्रभावले सबैभन्दा पहिले निम्न र मध्यम आय भएका परिवारलाई नै धेरै गाँजेकाले न्यूरोड र असनको व्यापार प्रभावित भएको उनीहरुको भनाइ थियो ।
तर, यतिबेला भने उच्च ओहदामा बसेका, उच्च आय भएका र विदेशमा परिवार भएका व्यक्तिहरुले किनमेल गर्ने दरबारमार्गको बजार पनि सुनसान देखिन थालेको छ । यसको अर्थ आर्थिक सुस्तताले गहिरो आर्थिक मन्दीको रुप लिइसकेको होइन ? भन्ने प्रश्न उब्जाएको छ ।
एकै वर्षमा झञ्डै एक खर्बको कारोबार कालोसूचीमा पर्नु, एकै वर्षमा करिब ३५ हजार व्यक्ति कालोसूचीमा पर्नु र दिनहुँ जसो व्यवसायीले आत्महत्या गर्नुले आर्थिक मन्दीले विकराल रुप लिँदैछ भन्ने संकेत भने पक्कै पनि गरेको छ ।
त्यसैको प्रभावले कुनै बेला खचाखच देखिने दरबारमार्ग यति बेला सुनसान बनेको छ । कुनै बेला पाइला सार्दा पनि मानिसहरु धकेल्नुपर्ने स्थिती रहेको दरबारमार्गमा अहिले नाच्दै हिँड्दा पनि कोही ठोक्किन्नन् भन्दा फरक नपर्ला । विशेष गरी ब्रान्डेड सामानहरु पाउने, धनाढ्य तथा सेलिब्रेटीहरुले सपिङ गर्ने भनेर चिनिने दरबारमार्गमा न अहिले सेलिब्रेटी आउँछन्, न त धनाढ्य व्यक्तिहरू नै ।
के भन्छन् दरबारमार्गका व्यवसायी ?
व्यापार को अवस्था पहिलेको तुलनामा अहिले धेरै खस्किएको मिटर्स बनवी ब्रान्डको स्वरुमका एक व्यक्तिले बताए । ‘एक पटक कोरोनाले सेलाएको व्यापार अहिले फेरी आर्थिक मन्दीले त झनै डाउन गराइदियो, उनले भने,‘मन्दीको प्रभाव त्यसैमाथी अहिले झन् महानगरले पार्किङ हटाइदिएपछि त कस्टमरहरु नै डाइभर्ट भए ।, अलिकती लक्जरियर्स गाडिहरु लिएर सपिङ गर्न आउने कस्टमरहरु थिए, परिवारहरु आउँथे, अहिले पार्किङ छैन, होटलहरुमा पार्क गर्दा त्यहाँको चार्ज नै बढी छ, त्यसैले पनि कस्टमरहरु डाइभर्ट भए । आउने जाने मान्छेहरु ठप्पै छ ।’, आफ्ना रेगुलर कस्टमरहरु समेत आजभोलि सामान किन्न आउन छाडेको उनको भनाइ छ ।
उनका अनुसार, कोभिड पछि अलिकती पिकअप लिएको सेल्स अहिले ६० प्रतिशतले घटेको छ । सामानको महँगी देखि लिएर हरेक कुरामा मंहगी छ । यी यावत कुराले दरबारमार्ग प्रभावित बनेको छ । कत्ति पसलहरु बन्द भए । अहिले मार्केटको कन्डिसन राम्रो छैन । पसलहरु धेरैजसो चल्ने लोनले हो । अहिले बैङ्कले भने जति लोन पनि दिँदैन । अहिले आफ्नै पैसा निकाल्न पनि त गाह्रो छ । बैङ्कले भनेजत्ति लोन दिन नसक्दा पनि व्यापारीहरुलाई समस्या भएको उनको भनाइ छ ।
मिटर्स बनवी मात्रै होइन दरबारमार्गमा अवस्थित रिबकको स्वरुममा पनि पहिले जस्तो कस्टमरहरु आउन छाडेका छन् । स्वरुमका एक व्यक्तिले भने, ‘पहिलेको तुलनामा मान्छेको फ्लो नै कम भएको छ, पहिले जस्तो मान्छेहरु आउनै छाडे, आर्थिक मन्दीका कारण मानिसहरुले सामानहरु कम किन्न थालेका छन् । ‘ब्रान्डेड सामान भए पनि धनी मात्रै होइन, मध्यम आय भएका मान्छे पनि आउँथे’, उनले भने, ‘अहिले आउनै छाडे । हाम्रोमा सबैले अफोर्ड गर्न सक्ने समान पनि छ, महँगो सामान पनि छ । तर, पहिले जुन फ्लोमा मान्छे आउँथे, अहिले आउँदैनन् ।’ पहिलेको तुलनामा अहिले ५० प्रतिशतले व्यापार घटेको उनको भनाइ छ ।
एरिके ब्रान्डका स्वरुममा पनि कस्टमर कम आउने गरेको स्वरुममा कार्यरत एक व्यक्तिले बताए । पहिलेको तुलनामा व्यापार निकै कम छ, उनले भने, ‘ व्यापार को अवस्था दयनीय छ । कस्टमर संग पैसा पनि छैन ।, कोरोनाले नपारेको समस्या अहिले पार्यो । एक त आर्थिक मन्दी छ। अर्कातिर महानगरले पार्किंङ हटाइदिँदा व्यापार चौपट भएको छ ।’ महँगी बढे पनि पहिले सामान किन्नेको घुइँचो लाग्ने गरेको तर अहिले मान्छे आउनै छाडेको उनको भनाइ छ। अहिले ७५ प्रतिशत मात्रै व्यापार भएको उनले बताए ।
अत्याधिक चलेको ब्रान्ड पुमा को दरबारमार्ग स्थित स्वरुममा पुग्दा त्यहाँ दुई जना स्वरुममा कार्यरत व्यक्ति बाहेक अरु कोही भेटियनन् । ती व्यक्तिले आर्थिक मन्दीका कारण व्यापार डाउनमा रहेको बताए । यति नै भन्न नसके पनि पहिले भन्दा व्यापारमा निकै कमी आएको उनले बताए ।
यडिडासको स्वरुममा पनि व्यापारमा कमी आएको छ । खुलेको २०–२२ वर्षको अवधिमा हेर्दा अहिलेको व्यापारमा ६० प्रतिशतले कमी भएको स्वरुमका सञ्चालकले बताए । ‘के धनी के गरिब सबै हाम्रो स्वरुममा सामान किन्न आउँथे । तर, अहिले आर्थिक मन्दीका कारण खासै कस्टमरहरु नै आउँदैनन्’। उनले भने, ‘ब्रान्ड कन्सियस मानिसहरु किन्न आउँथे, सबैले अफोर्ड गर्ने सक्ने सामान छ हाम्रोमा । आर्थिक मन्दीकै कारण होला अहिले आउन छाडे ।’
स्वरुम तथा ब्रान्डेड सामान मात्रै होइन हरेक पसलमा अहिले व्यापार नै छैन । स्वदेशी तथा विदेशी पर्यटक सम्म आउने दरबारमार्गको एक चस्मा पसलमा अहिले मान्छेहरु आउनै छोडेका छन् । आर्थिक मन्दीका कारण ७० प्रतिशतले व्यापारमा कमी आएको पसलका सञ्चालकले बताए । ‘मान्छेहरूसँग अहिले पैसा नै छैन भन्छन्, सामान किन्न पनि आउँदैनन् ।’ उनले भने,।
दरबारमार्ग क्षेत्रमा पार्किङ तथा ट्राफिक व्यवस्थापन चुस्त बनाउन बोर्डको पहलमा निःशुल्क पार्किङको अवधारणा ल्याइएकोमा विगत चार वर्षदेखि महानगरबाटै ठेक्का लगाएर शुल्क उठाउँदै आएको थियो । यसै विषयलाई लिएर व्यावसायीहरुले केही दिन अघि आन्दोलन समेत गरेका थिए ।


































