काठमाडौँ । सम्झौता अवधि सकिएर पटक पटक म्याद थप गर्दा समेत कामको प्रगति नदेखिएपछि मालढुङ्गा-बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने तयारी भएको छ ।
सडक निर्माणमा भएको ढिलासुस्ती र निर्माण सामग्रीको अभावको विषयमा दुई हप्ताअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले स्थलगत रूपमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री ज्वालाले एक हप्ताभित्र समस्या समाधान गरेर सडक निर्माणलाई गति दिने आश्वासन दिएको भए पनि सडक निर्माणका काम अपेक्षा अनुरूप हुन सकेको छैन ।
मन्त्री ज्वालाको निर्देशनपछि उक्त आयोजना कार्यालयका ठेकेदार, कम्पनी प्रतिनिधिसँग छलफल गरेको छ ।
अबको एक महिनाभित्र योजनाको प्रगति नदेखिए ठेक्का तोड्ने सहमतिका साथ छलफल भएको पन्तको जानकारी छ । निर्माण सामग्रीको अभाव देखाएर ठेकेदारले योजना अलपत्र पार्दै आएका छन्”, इन्जिनियर पन्तले भने, अन्तिम पटक अब एक महिनासम्म योजनाको प्रगति नदेखिए ठेक्का तोड्नेछौँ ।
सडकको किनारबाट बग्ने कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न अदालतले रोक लगाएका कारण सडक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव देखाउँदै ठेकेदारले धीमा गतिमा काम गरिरहेको छ ।
सम्झौतामा ३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि तीन वर्षमा जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको छ । दोस्रो पटक थपिएको म्याद गत आर्थिक वर्षको असारमा सकिएको थियो भने पुनः तेस्रो पटक छ महिना थप गरेको समय पुस मसान्तमा सकिएको छ ।


































