काठमाडौँ । पछिल्लो चार हप्ता यताको शेयर बजारको यात्रालाई हेर्ने हो भने दैनिक रूपमा रौनक देखिएको छ । यति बेला शेयर बजार ‘बुलिस ट्रेन्ड’मा छ।
संसद्का दुई ठुला राजनीतिक दल एमाले र काँग्रेस मिलेर सत्ता साझेदारीको सम्झौता गरेसँगै बढ्न थालेको शेयर बजारले निरन्तर गति लिइरहेको छ । असार १७ गते मध्यका दिनदेखि बजारमा दैनिक रूपमा उछाल आएको हो ।
१८ गतेको कारोबारमा ४७ अंकको वृद्धि आएको शेयर बजारमा अर्थ मन्त्रालयमा विष्णु पौडेल आउने चर्चा चुलिएसँगै बजार झनै बढ्न थाल्यो। पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हालेको भोलीपल्ट अर्थात् साउन १ गते बजार ७० अंकले बढेको थियो ।
नयाँ सरकार गठन भएपश्चात् भएको २३ कारोबार दिनमध्ये नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४ कारोबार दिन मात्रै घटेको छ। असार १६ गते परिसूचक २०३७ मा थियो, भने हिजो बुधवारसम्म २७६० अंकमा आई पुगेको छ। सरकार बनेपछि ७२३ अंकको वृद्धि आएको छ ।
बजारमा यसरी एकाएक बढ्नुमा राजनीतिक नेतृत्वले आम लगानीकर्तालाई उत्साहित बनाएको स्पष्ट देखिन्छ । काँग्रेससँगको साझेदारीसँगै प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिँदै गर्दा शेयर बजारमा आएको वृद्धिबारे सम्बोधन गरेका थिए।
‘नयाँ सरकार बनेसँगै शेयर बजार बढ्न थालेको छ,’ उनले भनेका थिए, ‘अब शेयर बजार मात्रै नभएर सबै बजार चलायमान बन्छ।’ ओलीभन्दा अघि अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारबारे सम्बोधन गरिसकेका थिए।
शेयर बजारमैत्री छवि बनाएका अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हाल्दै गर्दा पुँजी बजार अर्थतन्त्रको ऐना भएको बताएका थिए। पौडेलले विभिन्न व्यक्तिले शेयर बजारलाई जुवा घर भन्ने गरे पनि वास्तवमा अर्थतन्त्रको ऐना नै भएको बताउँदै आएका छन् ।
त्यस्तै प्रधानमन्त्रीका रूपमा ओली र अर्थ मन्त्रालयमा पौडेल आएपछि राष्ट्र बैंकको कडा नीति एकाएक लचिलो बनेको छ। एमाले निकटका रूपमा मानिने गभर्नर अधिकारीले चालू वर्षको मौद्रिक नीतिमा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल दुवैलाई खुसी बनाएको देखिएको छ । उनले शेयर बजारको व्यक्तिगततर्फको १५ करोडको सीमा यथावत् राखेर संस्थागततर्फको २० करोडको सीमा हटाइदिएका छन् ।
यसबाहेक मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार घटाएको छ। यसअघि यो सीमासम्मको शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो। २० करोडको सीमा हटाउँदै ठुला संस्थागत लगानीकर्तालाई सहजीकरण गरेको राष्ट्र बैंकले ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार घटाउँदै साना लगानीकर्तालाई खुसी पार्न खोजेको देखिन्छ ।
त्यसैगरी शेयर बजार परिसूचक बढ्न थालेसँगै कारोबार रकम समेत बढ्न थालेको छ। बुधवार मात्रै झन्डै २२ अर्ब रुपैयाँ नजिकको कारोबार भएको छ । यो नेप्से इतिहासमा नै अहिलेसम्मको सबैभन्दा उच्चतम कारोबार रकम हो । यसअघि २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजारमा परिसूचक यति नै पुग्छ भन्ने निश्चित गर्न नसके पनि यो सकारात्मक यात्रा लम्बिने शेयर विश्लेषकहरूको भनाई छ । यति बेला वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम ६ खर्ब रुपैयाँभन्दा बढी छ। यसबाहेक अर्थतन्त्रका सबैजसो बाह्य सूचक सकारात्मक स्थितिमा छन्।
गत आर्थिक वर्षमा राजश्वको लक्ष्य नभेटिनु, बजेट घाटा कायमै रहनु र बजेट खर्च लक्ष्यबमोजिम हुन नसक्नुबाहेक बाह्य सूचक ठिकठाक अवस्थामा छन् यसकारण बजारले थप गति लिने विश्लेषक छोटेलाल रौनीयारले आर्थिक भ्वाइसलाई बताएका छन् ।

































