काठमाडौं । राजस्व स्रोत अनपेक्षित रुपमा घटेसँगै आर्थिक वर्ष २०७९/८० को आय व्यय खाता घाटामा गएको छ । आर्थिक वर्ष २०७९/८० का लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट (खर्च) ल्याएको थियो । तर उक्त खर्च व्यहोर्ने स्रोतमा राजस्वबाट १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा असार मसान्तसम्म जम्मा १० खर्ब ३१ अर्ब ६९ करोड २१ लाख रुपैयाँ (लक्षित राजस्वको ७०.७३ प्रतिशत) मात्र उठ्न सकेको छ ।
कुन स्रोतबाट भयो धोका ?
यस पटक सरकारलाई प्रायः सबैजसो आर्थिक स्रोतहरुबाट धोका भएको छ । आर्थिक वर्षभरीमा १४ खर्ब ३ अर्ब बढी राजस्व उठाउने लक्ष्य राखेको सरकारले असार मसान्तसम्म मुस्किलले ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ उठाउन सकेको छ । यस्तै, गैर–राजस्वतर्फ १ खर्ब ७ अर्ब ७७ करोडको लक्ष्य राखेको सरकारले आर्थिक वर्षभित्र जम्मा ९१ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ मात्र उठेको छ ।
आन्तरिक राजस्वतर्फको स्थिति
भन्सार केन्द्रीत राजस्वसँगै गैर–राजस्व र विदेशी आर्थिक सहयोग समेत गुमिरहेका बेला यस पटक आन्तरिक राजस्वतर्फ पनि सरकारलाई राम्रै झड्का लाग्न पुुगेको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले आयकर बापत जम्मा २ खर्ब १२ अर्ब २४ करोड ४८ लाख ९४ हजार रुपैयाँ मात्र असूल गर्न सकेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा ९३ प्रतिशत बराबरको मात्र असुली हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म सरकारले कूल २ खर्ब २९ अर्ब ३४ करोड २४ लाख ३ हजार रुपैयाँ असूली गरेको थियो ।
शिक्षा र स्वास्थ्यमा आक्रामक वृद्धि
यद्यपि, आर्थिक वर्षमा आय स्रोतका अधिकांश स्रोतहरु खुम्चिराख्दा यता शिक्षा र स्वास्थ्य क्षेत्रबाट भने सरकारले आकर्षक कर वृद्धि गरेको देखिन्छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सरकारले शैक्षिक करमा १६२ प्रतिशतको प्राप्ति गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा शैक्षिक कर बापत कूल १ अर्ब २३ करोड ७९ लाख ६८ हजार रुपैयाँ मात्र असुल हुँदा यो वर्ष सरकारले २ अर्ब २३ करोड ६९ हजार रुपैयाँ असुल गरेको छ ।

































