काठमाडौं । राजस्व छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग साढे ३ करोड रुपैयाँ बढी बिगो दाबी गरेको हो ।
विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल, आयुष बड्डु र कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।
उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ विपरीत काम गरी ऐनको दफा ४ (छ)बमोजिमको कसुर गरेको पुष्टि भएको थियो।
सोही कसुरमा ७ जनाविरुद्ध ३ करोड ५० लाख १५ हजार ५४१ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
प्रतिवादीहरूलाई ऐनको दफा २३ (१) बमोजिम जरिवाना तथा दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेतको मागदाबी गरी अदालतमा अभियोग दायर गरिएको छ।


































