काठमाडौँ । रुपन्देहीको टाइगर प्यालेस रिसोर्टले व्यवस्थापन परिवर्तन भएको छ । विवादबीच टाइगर प्यालेस रिसोर्टले व्यवस्थापन परिवर्तन भएको औपचारिक घोषणा गरेको हाे ।
टाइगर प्यालेस रिसोर्टको कानुनी रुपमा स्वामित्व परिवर्तन नभए पनि नयाँ व्यवस्थापन घोषणा गरिएको हो ।
गैरआवासीय नेपालीहरुले हङकङमै होटलको सेयर स्वामित्व किनबेच गरेपछि विवाद भइरहेको छ ।
काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीका नयाँ अध्यक्ष बुद्धिसागर सुवेदीले व्यवस्थापन परिवर्तन भएको घोषणा गरेका छन् । उनका अनुसार अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजको ५ अर्ब लगानीमा उक्त रिसोर्ट सञ्चालनमा आएको थियो ।
प्रत्यक्ष वैदेशिक लगानीमा रहेको रिसोर्ट बन्द हुने अवस्थामा आफूहरूले खरिद गरेको सुवेदीले बताए ।
सबै सेयर गैरआवासीय नेपालीहरूले संयुक्तरूपमा किनेका हुन् । सिल्भर हेरिटले ऋण तिर्न नसकेपछि टाइगर प्यालेस खरिद गरिएको सुवेदीले बताए ।
सुवेदीले टाइगर प्यालेस १५ मिलियन डलरमा खरिद बिक्री भएको बताएका छन् । अब बैंकको दायित्व, रोयल्टी तिर्नु पर्ने र रिनोभेसनका लागि त्यहाँ लगानी गर्नुपर्ने छ ।


































