काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हालै सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा पश्चिम एसियामा भइरहेको द्वन्द्वले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने निष्कर्ष प्रस्तुत गरिएको छ।
अप्रिल २०२६ मा सार्वजनिक गरिएको उक्त प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि दर ३.१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन यसअघि गरिएको ३.४ प्रतिशतको प्रक्षेपणभन्दा घटेको हो।
प्रतिवेदनले युद्धका कारण ऊर्जा बजारमा अस्थिरता, आपूर्ति प्रणालीमा अवरोध, मुद्रास्फीतिसम्बन्धी अपेक्षामा वृद्धि तथा वित्तीय अवस्थामाथि दबाब परेको उल्लेख गरेको छ। यिनै कारणले सन् २०२६ मा विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशतसम्म पुग्ने र त्यसपछि सन् २०२७ मा घटेर ३.७ प्रतिशतमा सीमित हुने आँकलन गरिएको छ।
आईएमएफका अनुसार यदि उक्त द्वन्द्वको अवस्था उत्पन्न नभएको भए विश्व अर्थतन्त्र अझ सुदृढ दरमा विस्तार हुन सक्ने सम्भावना थियो।

आईएमएफका अनुसार युद्धको असर विकासशील देशहरूमा अझ तीव्र रूपमा देखिन सक्नेछ। विशेषतः ऊर्जा आयातमा निर्भर मुलुकहरूमा मूल्यवृद्धि र बाह्य सन्तुलन बिग्रिने दोहोरो चुनौतीको सामना गर्न सक्छन्।
प्रतिवेदनले जोखिम अझै उच्च रहेको भन्दै चेतावनी दिएको छ कि यदि द्वन्द्व लामो समयसम्म जारी रह्यो वा ऊर्जा पूर्वाधारमा थप क्षति पुग्यो भने विश्व आर्थिक वृद्धि २.५ प्रतिशत वा त्योभन्दा तल झर्न सक्छ। गम्भीर अवस्थाको परिकल्पनामा वृद्धि दर २ प्रतिशतसम्म सीमित हुन सक्ने र मुद्रास्फीति ५ देखि ६ प्रतिशतभन्दा माथि पुग्ने आँकलन गरिएको छ।
यससँगै व्यापारिक विवाद, बढ्दो सार्वजनिक ऋणभार, राजनीतिक अस्थिरता तथा कृत्रिम बुद्धिमत्ता (एआई)मा हुने लगानीको अनिश्चिततालाई पनि प्रमुख जोखिमका रूपमा औंल्याइएको छ। यद्यपि एआईको तीव्र विकास, संरचनागत सुधार र अन्तर्राष्ट्रिय सहकार्यले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सक्ने सकारात्मक संकेत पनि प्रतिवेदनले दिएको छ।
आईएमएफले अहिलेको विश्व अर्थतन्त्र “युद्धको प्रभाव”मा रहेको निष्कर्ष निकाल्दै आगामी आर्थिक दिशा ठूलो मात्रामा भूराजनीतिक परिस्थितिमा निर्भर रहने स्पष्ट पारेको छ।

































